चलचित्र विकास बोर्डले क्यानसरपीडित कलाकार राजन थापालाई एक लाख आर्थिक सहयोग प्रदान

काठमाडौं । नेपाली चलचित्र उद्योगमा चार दशकदेखि सकृय कलाकार राजन थापालाई चलचित्र विकास बोर्डले एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बोर्ड अध्यक्ष दिनेश डिसीले आज एक कार्यक्रमबीच थापालाई उपचारका लागि उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिको निर्णयअनुसार आर्थिक अभाव झेल्दै आएका थापालाई सहयोग प्रदान गरिएको हो। कल्याणकोषका संयोजक वरिष्ठ कलाकार बसुन्धरा भुसाल हुनुहुन्छ।

राजन थापा २०३९ सालदेखि नेपाली कलाकारीतामा सक्रिय छन्। उनले ‘६ एकान ६’, ‘दुश्मन’, ‘ईकु’, ‘कंगाल’, ‘सम्पत्ति’ जस्ता चलचित्रहरूमा अभिनय गरेका छन्। त्यस्तै, ‘अविरल बग्दछ इन्द्रावती’, ‘रहरै भो’, ‘श्रीमान श्रीमती’, ‘तितोसत्य’, ‘चक्कर’, ‘भुइँचालो’, ‘सञ्चय’ जस्ता टेलिसिरियलहरूमा समेत उनी देखिएका थिए।

विगत एक वर्षदेखि आन्द्राको क्यानसरबाट पीडित थापाले आर्थिक कठिनाइका कारण उपचार गर्न समस्या झेल्नुपरेको थियो। चलचित्रकर्मीहरूको सहायतामा उनलाई उपचारका लागि आर्थिक सहयोग जुटाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *