काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताउनु भएको छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको समेत बताउनु भयो ।
‘नेपालमा प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना छ । हामीले यसलाई ‘क्यापिटलाईज’ गर्नु सक्नु पर्छ । यहाँ भएका स्रोत साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता पनि विकास हुने र रोजगारी पनि प्रसस्त सिर्जना गर्न सकिन्छ ।’ उहाँले भन्नु भयो ।
यस्तै अध्यक्ष ढकालले देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता कायम गर्नु पर्ने र आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु पर्ने बताउनु भयो । ‘मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरताका साथै आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु पर्छ । यसो गर्न सके मात्रै मुलुकमा लगानीको वातावरण सिर्जना, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ । ’ उहाँले भन्नु भयो ।
अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघहरुको माग अनुसार विधान संशोधन गरिएको बताउँदै विधान संशोधनसंगै जिल्ला नगर उद्योग वाणिज्य संघबाट महासंघमा जानको लागि अवसर सिर्जना गरेको बताउनु भयो ।
वि.स. २०१० सालमा स्थापित बुटवल उद्योग वाणिज्य संघ पश्चिम नेपाल कै अग्रणी संस्था भएको उल्लेख गर्दै अध्यक्ष ढकालले बुटबल उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको हकहित संरक्षण, सम्बर्द्धनका साथै यस क्षेत्रको शिक्षा, स्वास्थ लगायतका अन्य पूर्वाधारको विकासमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकोमा संघको प्रशंशा गर्नु भयो ।